अनिँदो रात

 रात सारै छिप्पिसकेको थियो, त्यस्तै दुई जति बजेको हुँदो हो । आज त चाँडै सुत्छु भनेर बत्ती निभाइवरी ओछ्यानमा पल्टेको पनि थुप्रै बेर भइसकेको थियो । धेरै बेर प्रयत्न गर्दा पनि निद्रा लागेको थिएन । सुत्नका लागि जब मानिसले प्रयत्न गर्नु पर्ने हुन्छ तब बुझ्नुपर्छ – कि त तन स्वस्थ छैन, कि त मन । कोठाको एउटा भित्तामा स्वीचबोर्डको रातो बत्ती बलिराखेको थियो । पर्दाको काँपबाट बाहिरको मधुरो प्रकाश कोठाभित्र पस्न आफ्नो भएजतिको जोड लगाइरहेको भएपनि खासै सफल भएको थिएन । सायद त्यो प्रकाशलाई पनि निद्रा लागेको होला, त्यही भएर त मेरो कोठाको अन्धकारमा आएर निदाउने प्रयत्नमा जुटेको हुँदो हो । तर उसलाई के थाहा, त्यो कोठाभित्र अर्को मानवरुपी प्राणी निदाउन नसकेर छट्पट्याइ रहेको छ । सोचेँ, ऊ त चाहेर पनि निदाउन पाइरहेको छैन, म भने चाहेर पनि निदाउन सकिरहेको छैन । अब त कोठामा बस्दा पनि ऐँठन जस्तो महसुस हुन थाल्यो । त्यही बाहिरबाट आइरहेको मधुरो प्रकाशको सहायताले ढोकासम्म पुगेँ । हुन त आफ्नै कोठामा आँखा चिम्लेरै पनि म मज्जाले हिँड्न सक्थेँ । सुस्तरी ढोकाको छिड्कनी खोलेँ । अनि आफ्नो पाइलालाई सतर्क हुन निर्देश दिएर आवाज ननिकालिकन, सकेसम्म सास पनि बिस्तारै फेर्दै घरको लिभिङ रुम हुँदै मूल ढोकामा पुगेँ । आग्लो झिकेर छेउमा राखेँ अनि ढोका उघार्दै मात्रै के थिएँ, ढोकाले चुँइक्क आवाज निकालिहाल्यो । अलिअलि फेर्दै गरेको सास पनि अब हल्ट भयो, मुटु भने झन् तीब्र भएर दौडिन थाल्यो । म पनि तीस सेकेन्ड जति नहल्लिकन उभ्भिरहेँ । ढोका खोल्दै गरेको आवाजले आमा-बाबा ब्युँझिनु भो भने, फेरि यति राती कता निस्केको भनेर सोध्नुहुन्थ्यो । हुन त यसमा डराउनु पर्ने कुरा त थिएन; जति सुत्न खोज्दा पनि निद्रा नलागेर यसै बाहिर निस्किन आँटेको भन्न सक्थेँ । तर यत्तिकै व्यर्थमा किन प्रश्नोत्तरको झमेलामा पर्नु भनेर सर्‍याकसुरुक पनि नगरी बाहिर निस्किन खोज्दै थिएँ । अब आवाज ननिकाल्नु है भनेर ढोकालाई सम्झाएँ अनि अझ बढी होसियार हुँदै ढोका उघारेँ । ढोकाले पनि ज्ञानी बालकलेझैँ मेरो कुरा टेर्‍यो ।

 

बाहिर निस्किदाँ कस्तो आनन्द लाग्यो, संसार नै जितेजस्तो बिजयी भावको लहर मेरो रगतमा बग्न थाल्यो । घरअगाडीको बाटोमा पुगेँ । आकाशतिर हेरेँ, आधी चन्द्रमा ताराहरुकोबीच आकाशमा राज गर्दै थियो । “आज अष्टमी वा नवमी हुनुपर्छ”, मैले अनुमान लगाएँ । यता धर्तीमा चिसो हावाको झोक्काहरुले मेरो तन-मन सबै स्पर्श गर्दै थिए । पानीले त सबैले नुहाउँछन्, म भने हावाले नुहाइरहेको थिएँ । सुनसान रातमा बाटोको बीचमा एक्लै उभ्भिरहँदा प्रशन्नताले म भरिपूर्ण भइरहेको थिएँ । निदाउन नसक्दाको छट्पटी हराएर गयो, त्यो ऐँठनले पनि परबाट हात हल्लाउँदै बिदा माग्दै थियो । त्यतैबाट कुनै कुकुर भुकेको आवाज मेरो कानभित्र पस्यो । लाग्यो, मेरो शरीर छोडेर कुन चैँ कुकुरको शरीरमा पसेछ – ऐँठन । आफ्नै सोच देखेर आवाज निकाल्दै खितीती हासेँ । यत्तिकैमा फुल स्पीडमा मोटरबाइक हुर्‍याउँदै एकजना मेरो अगाडीबाट गयो । सोचेँ, “यो मान्छे पनि मजस्तै निद्रा नलागेर, भौतारिँदै राती बाइक लिएर निस्केको हो कि ! होइन, केही इमेरजेन्सी परेर पनि हुन सक्छ ।”

 

केहीबेर बाटोमै उभ्भिएँ । केहीबेर यताउती हिँडे । केहीबेर आफ्नै सोचमा डुबेँ । केहीबेर परपर अँध्यारोमा देखिएका आकृतिहरु नियाल्दै बसेँ । यसो हेरेर भूत हो कि भनेर डराएँ, फेरि भूत हुँदैन भनेर आफैलाई सम्झाएँ पनि, अनि निडर भएर खडा भइरहेँ । यदि भूत नै रहेछ र आइहालेछ भनेपनि डटौँला, लडौँला भन्ने हिम्मत ममा आइसकेको थियो । केहीबेर ठिङ्ग ठडिरहेँ, ऊ पनि ठिङ्ग ठडिरह्यो । दुवै हलचल नगरी एकअर्कालाई हेरिरह्यौँ । धेरैबेर कुर्दा पनि त्यो भूत म नजिक नआएपछि फेरि आफूले जितेको महसुस गर्दै अब सुत्न फर्किने निर्णय गरेँ ।

 

फर्किँदा आमालाई ढोकामा ठिङ्ग उभिएको देखेर मेरो सातोपुत्लो उड्यो । लिभिङ रुमको बत्ती बलिराखेको थियो । आमा कतिखेर बाट त्यहाँ उभ्भिनु भएको भनेर सोध्न मन थियो तर सोध्न सकिनँ । अघि मैले ढोका खोल्दा गरेको चुँइक्क आवाजले ब्युझिनु भएको हो कि, बाथरुम जान निस्कँदा ढोका खुल्ला देखेर त्यहाँ उभ्भिनु भएको भनेर पनि सोध्न मन थियो तर सकिनँ । बरु उल्टै रिस र जिज्ञासा मिसिएको भावमा आमाले प्रश्न गर्नुभो, “काँ डुलेर आउँदैछस् तँ अहिले बाहिरबाट ?” मैले बिस्तारै नम्र हुँदै भनेँ, “निद्रा लाग्दै लागेन र यसो हावा खान बाटोतिर निस्केको ।” मेरो कुराको वेवास्ता गर्दै आमाले भन्नुभो “जा गएर सुत् खुरुक्क, भोलि ब्यान ढिलो उठ्नलाई ।” अरु केहि नसोधी आमाले यसो भन्दा ढुक्क लागेर आयो ।

 

कोठामा गएँ । अघि कोठामा पस्न प्रयत्नरत प्रकाश अहिले पनि उही स्थितिमै छ । मेरो भने स्थिति परिवर्तन भइसक्यो । सिरान छेउमा राखेको मोबाइल हेरेँ, दुई बजेर सन्ताउन्न मिनेट भएछ । ओछ्यानमा पल्टिएँ ।

 

बिहानै सात बजे उठेर, फ्रेस भएर भान्साकोठामा जाँदा आमा त्यहीँ चिया पकाउँदै हुनुहुन्थ्यो । मलाई देखेर चकित परेझैँ हेर्नुभो । आमा नजिकै गएँ र चिया पाक्दै गरेको भाँडोतिर हेर्दै भने, “मलाई पनि पकाइदिनु ल, आमा ।”

आमाले मतिर हेर्दै हाँस्दै भन्नुभयो, “पकाउँदिनँ, तँलाई कसरी पकाउनु हौ ।”

“ह्या, म पनि चिया खान्छु पो भनेको त ।”

 

चिया कुरेर भान्साकोठामै बसिराखेको थिएँ । बाबा पूजा सकेर टीकाको थाली बोकेर भान्सामै आइपुग्नुभो । आमालाई टीका लाइसकेर मनजिक आउनुभयो अनि भन्नुभयो, “निधारको कपाल माथी सार् ।”

दाहिने हातले मेरो निधारको कपाल मास्तिर फर्काएँ । बाबाले आफ्नो दाहिने हातको साहिली औँलाले मेरो निधारमा टीका लाइदिनुभयो अनि शीरमा फूल राख्दै भन्नुभयो, “भोलिबाट म पनि जान्छु है, तीन बजे मर्निङ वाकमा ।” आमातिर हेरेँ, सायद सुनेर पनि नसुनेझै गरी चियामै ध्यान दिइराख्नु भको थियो । त्यसपछि म केही बोलिनँ, मुसुक्क मुस्कुराएँ मात्र ।

 

Comments

Popular posts from this blog

चलन

रानी