लोलाउँदै गरेका आँखा मेरा अनि बारबारको हाइले निद्रादेवीले बोलाएको संकेत गर्दै थिए। किताबका अक्षरमा अडिन नसकेर अब मेरो मनले पनि मलाई ओछ्यानतिर धकेल्न थाल्यो। त्यसपछी त थाहा नपाई एक निमेषमै बत्ती निभाइ म ओछ्यानको अँगालोमा बाँधिन पुगेँ शिरमा सिरान र जिउमा ब्ल्याङ्केटका साथमा। अनि म सायद सपनाको संसारको द्वारमा पुग्न आट्दै थिएँ, त्यही बेला मेरो छेउमा भएको मोबाइल भाइब्रेट भएको मेरो हातले थाहा पाएछ क्यारे! चुम्बकले फलामलाई तानेझैँ मेरो हातलाई मोबाइलले तान्न त तानेन तर मेरो दाहिने हात मोबाइलको खोजीमा जुट्यो छामछुम पार्दै। एकछिनमा फेला पर्यो मोबाईल अनि हातले पनि सफलताको खुशीयाली मनायो। अहिले सम्म नखुलेका आँखाका अगाडि जब मोबाईल पुग्यो तब अलिअलि गर्दै आँखा खुल्न लागे र त्यो डिजिटल स्क्रिनबाट आइरहेको प्रकाश मेरा आँखाभित्र पसे। आँखाले देख्न अघि नै दिमागले 'वन् न्यु मेसेज' लेखेको देख्यो। त्यो मेसेज उनकै थियो- रानीको। 'सुत्यौ?' भनेर पठाएकी रहेछिन् । अघि खुल्नै नमानी राखेका मेरा आँखा अहिले चारगुना ठुला भएका थिए। 'सुत्न आट्दै थिएँ' मैले रिप्लाई गरे 'तिमी सुतेछैनौ अहिले सम्म?' 'म तिमीजस्तो सुतुवा हैन नि' उनको यो मेसेज पछाडी हास्दै गरेको इमोजी नि जोडिएर आएको थियो। उनको मेसेज गर्ने तरिका मलाई क्या मन पर्थ्यो उनी जस्तै। उनलाई थाहा थियो म सारै सुत्छु भनेर। मलाई त धेरै सुत्ने भनेर गिनिज रेकर्ड दिए नि फरक पर्दैनथ्यो होला। मैले 'हाहा' लेखेर पठाए। यसैगरि कुरा हुँदै गयो अनि केहिछिनपछि टुंगियो। त्यसपछि 'गुडनाइट' वाला मेसेज साटासाट भयो। सधैझैँ अनि उताबाट आएको 'बाइ' मेरालागि 'हाई' जस्तै भयो र कुराले फेरि गति लियो। मलाई लाग्थ्यो ती 'गुडनाइट र बाइ' ले हाम्रो कुराकानी लम्ब्याउन मदत गरिरहेका हुन्थे।
समय अहिले फेरिएको छ। उनी आफ्नो भविस्य बनाउनतिर लागेकी छिन् र म पनि। बेलाबेलामा हाम्रो भेट हुन्छ। उनी मुस्कुराउँछिन; अझै पनि मन पर्छ मलाई उनको त्यो घायल बनाउने मुस्कान। हामी अझै पनि कुरा गर्छौं। तर पहिलेको जस्तो टेक्स्ट गर्दैनौं किनभने अहिले न उनलाई फुर्सद छ न त मलाई नै। हामी आफ्नै जिन्दगीमा रमाइरहेका छौँ, बेलाबेलामा आफ्ना अतीतका ती स्मरणीय पानाहरु पल्टाउँदै।
Comments
Post a Comment