रात सारै छिप्पिसकेको थियो, त्यस्तै दुई जति बजेको हुँदो हो । आज त चाँडै सुत्छु भनेर बत्ती निभाइवरी ओछ्यानमा पल्टेको पनि थुप्रै बेर भइसकेको थियो । धेरै बेर प्रयत्न गर्दा पनि निद्रा लागेको थिएन । सुत्नका लागि जब मानिसले प्रयत्न गर्नु पर्ने हुन्छ तब बुझ्नुपर्छ – कि त तन स्वस्थ छैन, कि त मन । कोठाको एउटा भित्तामा स्वीचबोर्डको रातो बत्ती बलिराखेको थियो । पर्दाको काँपबाट बाहिरको मधुरो प्रकाश कोठाभित्र पस्न आफ्नो भएजतिको जोड लगाइरहेको भएपनि खासै सफल भएको थिएन । सायद त्यो प्रकाशलाई पनि निद्रा लागेको होला, त्यही भएर त मेरो कोठाको अन्धकारमा आएर निदाउने प्रयत्नमा जुटेको हुँदो हो । तर उसलाई के थाहा, त्यो कोठाभित्र अर्को मानवरुपी प्राणी निदाउन नसकेर छट्पट्याइ रहेको छ । सोचेँ, ऊ त चाहेर पनि निदाउन पाइरहेको छैन, म भने चाहेर पनि निदाउन सकिरहेको छैन । अब त कोठामा बस्दा पनि ऐँठन जस्तो महसुस हुन थाल्यो । त्यही बाहिरबाट आइरहेको मधुरो प्रकाशको सहायताले ढोकासम्म पुगेँ । हुन त आफ्नै कोठामा आँखा चिम्लेरै पनि म मज्जाले हिँड्न सक्थेँ । सुस्तरी ढोकाको छिड्कनी खोलेँ । अनि आफ्नो पाइलालाई सतर्क हुन निर्देश दिए...
हडबडिएको मन अनि लडबडिएको पैर त्यो उबडखाबड बाटोमा बिना औचित्यको सैर चुँडिएछ चप्पलको फिता भुईँमा नाङ्गो पैताला हेर्दै जिस्काउँछ झ्यापाकझुपुक गर्दै त्यो पोलमा झुण्डिएको सडक बत्ती यसो आँखा तरेँ त्यसलाई अनि सोचेँ, यो रिस के पोख्नु र त्यो निर्जीव नकच्चरोलाई आर्तहरुमाथि गलल्ल हाँस्ने यस्तै त छ मान्छेले बना’को चलन ।
लोलाउँदै गरेका आँखा मेरा अनि बारबारको हाइले निद्रादेवीले बोलाएको संकेत गर्दै थिए। किताबका अक्षरमा अडिन नसकेर अब मेरो मनले पनि मलाई ओछ्यानतिर धकेल्न थाल्यो। त्यसपछी त थाहा नपाई एक निमेषमै बत्ती निभाइ म ओछ्यानको अँगालोमा बाँधिन पुगेँ शिरमा सिरान र जिउमा ब्ल्याङ्केटका साथमा। अनि म सायद सपनाको संसारको द्वारमा पुग्न आट्दै थिएँ, त्यही बेला मेरो छेउमा भएको मोबाइल भाइब्रेट भएको मेरो हातले थाहा पाएछ क्यारे! चुम्बकले फलामलाई तानेझैँ मेरो हातलाई मोबाइलले तान्न त तानेन तर मेरो दाहिने हात मोबाइलको खोजीमा जुट्यो छामछुम पार्दै। एकछिनमा फेला पर्यो मोबाईल अनि हातले पनि सफलताको खुशीयाली मनायो। अहिले सम्म नखुलेका आँखाका अगाडि जब मोबाईल पुग्यो तब अलिअलि गर्दै आँखा खुल्न लागे र त्यो डिजिटल स्क्रिनबाट आइरहेको प्रकाश मेरा आँखाभित्र पसे। आँखाले देख्न अघि नै दिमागले 'वन् न्यु मेसेज' लेखेको देख्यो। त्यो मेसेज उनकै थियो- रानीको। 'सुत्यौ?' भनेर पठाएकी रहेछिन् । अघि खुल्नै नमानी राखेका मेरा आँखा अहिले चारगुना ठुला भएका थिए। 'सुत्न आट्दै थिएँ' मैले रिप्लाई गरे 'तिमी सुतेछैनौ अहिले सम्म?...
Comments
Post a Comment