लोलाउँदै गरेका आँखा मेरा अनि बारबारको हाइले निद्रादेवीले बोलाएको संकेत गर्दै थिए। किताबका अक्षरमा अडिन नसकेर अब मेरो मनले पनि मलाई ओछ्यानतिर धकेल्न थाल्यो। त्यसपछी त थाहा नपाई एक निमेषमै बत्ती निभाइ म ओछ्यानको अँगालोमा बाँधिन पुगेँ शिरमा सिरान र जिउमा ब्ल्याङ्केटका साथमा। अनि म सायद सपनाको संसारको द्वारमा पुग्न आट्दै थिएँ, त्यही बेला मेरो छेउमा भएको मोबाइल भाइब्रेट भएको मेरो हातले थाहा पाएछ क्यारे! चुम्बकले फलामलाई तानेझैँ मेरो हातलाई मोबाइलले तान्न त तानेन तर मेरो दाहिने हात मोबाइलको खोजीमा जुट्यो छामछुम पार्दै। एकछिनमा फेला पर्यो मोबाईल अनि हातले पनि सफलताको खुशीयाली मनायो। अहिले सम्म नखुलेका आँखाका अगाडि जब मोबाईल पुग्यो तब अलिअलि गर्दै आँखा खुल्न लागे र त्यो डिजिटल स्क्रिनबाट आइरहेको प्रकाश मेरा आँखाभित्र पसे। आँखाले देख्न अघि नै दिमागले 'वन् न्यु मेसेज' लेखेको देख्यो। त्यो मेसेज उनकै थियो- रानीको। 'सुत्यौ?' भनेर पठाएकी रहेछिन् । अघि खुल्नै नमानी राखेका मेरा आँखा अहिले चारगुना ठुला भएका थिए। 'सुत्न आट्दै थिएँ' मैले रिप्लाई गरे 'तिमी सुतेछैनौ अहिले सम्म?...