मेरो डायरीका पानाहरु
मेरो डायरीका पानाहरु
मेरो मनका भावनाका सँगालो हुन्, चाहनाका संग्रह हुन्
यी पानाहरु त मेरा हितैसी हुन्
जसले मलाई सुन्दछन्, मलाई बुझ्दछन्
मेरा कुराहरु गोप्य राख्दछन्
मेरो जीवनको यी सहयात्री हुन्
मेरो हरेक पाइलाहरु उनीहरुले अनुभव गरेका छन्
मेरो भित्री र बाहिरी स्वरुप उनीहरुले देखेका छन् ।।
मेरो डायरीका पानाहरु मलाई एकदम प्रिय छन्
म चुप लागेर बस्दा मेरो मौनता बुझ्ने कोशिस गर्छन् उनीहरु
म नाँच्दा, उफ्रदा म सँगै खुशीयाली जुट्छन् उनीहरु
म भक्कानिएका बेला, मलाई सम्हाल्छन्, मलाई बुझाउँछन्
पीडा सहेर त्यो कलमको सुइ आफूमाथि घोच्न दिन्छन् उनीहरु
पर्वाह नगरी केही, मलाई नानाथरी रंग पोत्न दिन्छन् उनीहरु
त्यही भएर त मलाई थाहा छ
मेरो डायरीका पानाहरु एकदम बुझक्कड छन्
मेरो डायरीका पानाहरु एकदम सहनशील छन्
निर्जिव हैनन्, उनीहरुमा प्राण छ
सास छ, उनीहरुमा भाव छ ।।
मेरो डायरीका पानाहरु
एकदम भाग्यमानी छन्
मसँगै यिनले संसार देखेका छन्
कहिले धर्तीमा डुल्छन् त
कहिले आकाशका उड्छन्
कहिले बगैँचामा पुग्छन् त
कहिले मायामा डुब्छन्
कहिले अन्तरिक्षमा रमाउँछन् त
कहिले मेरो सपनीमा हराउँछन्
मेरो जीवनको हरेक क्षणको
कहानी यीनले समाउँछन्
म जहाँ पुगेपनि मेरो छायाँ जस्तै पछ्याउँछन् मलाई
त्यही भएर त मेरा लागि एकदम अमूल्य छन्
मेरा डायरीका पानाहरु ।।
Comments
Post a Comment